जहाँ कृषि व्यवसाय छैन त्यहीँ बैंकको कृषि कर्जा बढी
वाग्मती प्रदेशमा काठमाडौं जिल्लामा सबैभन्दा धेरै कृषि कर्जा प्रवाह भएको राष्ट्र बैंकको एक तथ्यांकले देखाएको छ । न्यून कृषियोग्य जग्गाका बाबजुत पनि प्रदेशकै सबैभन्दा धेरै अर्थात ४०.४ प्रतिशत कृषि कर्जा काठमाडौं जिल्लामा प्रवाह भएको पाइएको हो ।
वाग्मती प्रदेशमा पुससम्म कुल १ खर्ब ३अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह भएकोमा काठमाडौं जिल्लामा मात्रै ४१ अर्ब ७३ करोड रुपैयाँ प्रवाह भएको छ । काठमाडौंपछि चितवन जिल्लामा प्रदेशको ३० प्रतिशत कृषि कर्जा अर्थात ३० अर्ब ९ करोड प्रवाह भएको छ । प्रदेशमा सबैभन्दा कम रसुवा जिल्लामा ५९ करोड मात्रै कृषि कर्जा गएको छ ।
सिन्धुपाल्चोकमा १ अर्ब २९ करोड, दोलखामा ७५ करोड, धादिङमा ४ अर्ब ८ करोड, नुवाकोटमा ३ अर्ब ८७ करोड, भक्तपुरमा २ अर्ब ५१ करोड, ललितपुरमा ३ अर्ब १६ करोड, काभ्रेपलान्चोकमा ५ अर्ब २८ करोड, रामेछापमा ६३ करोड, सिन्धुलीमा १ अर्ब ९० करोड तथा मकवानपुरमा ६ अर्ब ६५ करोड कृषि कर्जा प्रवाह भएको राष्ट्र बैंककाे तथ्यांकले देखाएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले वृद्धि भई १ खर्ब ३ अर्ब ४१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २०.२ प्रतिशतले वृद्धि भएको थियो । यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ४.० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।