कविता – नदी – पि.आर. भट्टराई


नदी

सधैं लक्ष्य यौटै छ गन्तव्य पुग्ने।
कुनै विघ्नवाधाहरूमा नरुक्ने।।
नदी तुल्य यात्री बनीमात्र हेर।
तिमी बाँच्दछौ मृत्युलाई जितेर।।

नयाँ चेतना पुञ्ज बोकेर अायो।
अरे जाग भन्दै सुसेली बजायो।।
कुनै काम बिर्सेर फर्किन्न हेर ।
गयो जिन्दगानी नदी झैं बगेर।।

सयौं भोक मेट्छन् सयौं प्यास मेट्छन्।
सयौंले उज्यालो यसैबीच भेट्छन्।।
सधैं स्वच्छ सेवा गरी विश्वभित्र।
बनोस् जिन्दगानी नदी झैं पवित्र ।।

नदीले भन्यो मस्त डुल्दैछु भाइ।
न कोही छ अाफ्नो न कोही पराई।।
बगाएर लैजान्छु पानी बनेर।
पुरै जिन्दगी हो खरानी भनेर।।

म कोरूँ नयाँ विश्वको मानचित्र।
र पाऊँ सधैं हर्ष संघर्षभित्र ।।
सुखी जिन्दगीको दिने मूलमन्त्र।
नदी हो स्वयम् एउटा लोकतन्त्र।।

प्रतिक्रिया