अफ्रिकाबाट यसपालि युरोप, अमेरिका र अष्ट्रेलिया पुगेको मंकिपक्स भाइरस


साढे दुई वर्षदेखि कोरोनाभाइरसको महामारीसँग जुधिरहेका संसारभरिका मान्छेका कान अहिले एउटा अर्को संक्रामक रोगको नाम सुनेर ठाडा भएका छन्।

केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा मंकिपक्स नामक भाइरसको चर्चा हुन थालेको छ।

झन्डै ६५ वर्षअघि पत्ता लागेको यो भाइरस अहिले एकाएक संसारका १३ देशमा पुगेको छ।विश्व स्वास्थ्य संगठनले मंकिपक्सको यो फैलावटले जोखिम सिर्जना गर्न सक्ने भन्दै चनाखो हुनुपर्ने बताएको छ।

अमेरिका, युरोप र अष्ट्रेलिया पुगेको यो भाइरस नेपाल पनि आउन सक्नेबारे स्वास्थ्य अधिकारीहरूले चासो व्यक्त गरेका छन्।

सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकिपक्स राखिएको हो। सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो।त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला-बेलामा देखिने गरेको थियो। यसअघि पनि ती मुलुकमा गएका बाहिरका मानिसलाई पनि बेला-बेला यो भाइरसको संक्रमण हुन्थ्यो। अहिलेजति एकै पटक यति धेरै मुलुकमा यो भाइरस यसअघि कहिल्यै फेला परेको थिएन। बेलायत र अमेरिकाका संक्रमितहरू मध्य तथा पश्चिम अफ्रिकाका ती मुलुकमा नगए पनि उनीहरूमा संक्रमण देखिएको हुनाले स्वास्थ्य अधिकारीहरूले यो चनाखो हुनुपर्ने विषय भएको बताएका छन्।

प्रतिक्रिया