प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार, चार जनाविरुद्ध मुद्दा दायर


कञ्चनपुरमा पोष्ट हार्भेष्ट सेन्टर र कष्टम हायरिङ सेन्टर स्थापना गर्दा आफूखुसी कृषि सामग्री खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाको भिमदत्त नगरपालिका वडा नं. २, १९ र कृष्णपुर नगरपालिका वडा नं. ६ मा आर्थिक बर्ष २०७३/०७४ मा पोष्ट हार्भेष्ट सेन्टर र कष्टम हायरिङ सेन्टर स्थापनाको लागि सञ्चालक समितिमा निकासा भएको रकम समितिले किसानहरूसँग छलफल नै नगरी आफूखुसी कृषि सामग्री खरिद गरी आर्थिक अनियमितता गरेको अख्तियारको आरोप छ ।अख्तियारको अनुसन्धानबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धानजोन कन्चनपुरका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजालले ३ वटा ट्रयाक्टरहरुको अस्वाभाविक बढी मुल्याङ्कन गरी १६ लाख ३५ हजार बढी मूल्यमा खरिद गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । रिजालको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिम मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वभाविक बढी मुल्य तिरी खरिद गरे/गराएको कसुरमा बिगो सोह्र लाख पैँतीस हजार रुपैयाँ गरी ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरिएको छ । त्यस्तै धानजोन संचालक समितिका संयोजक तथा शुक्लाफाटाँ कृषिसहकारी अध्यक्ष दशरथ भण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिम मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वभाविक बढी मुल्य तिरी खरिद गर्ने गराउने कसुरमा बिगो सोह्र लाख पैँतीस हजार रुपैयाँ कायम गरी ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

प्रतिक्रिया