‘नेपहपको श्रीपेच’को उपाधि माेरङका भाइबर साइमनलाई


काठमाडौं । नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि साइमन विष्ट उर्फ भाइबर साइमनले जितेका छन् । छ महिनादेखि चलिरहेको सिजनको सोल्टीमोडस्थिल होटल सोल्टीमा भएको ग्रान्ड फिनालेमा मोरङका भाइबर साइमनले उपाधि जितेका हुन् । उपाधिसँगै उनले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्न पाउने शोका निर्देशक निकेश खड्काले जानकारी दिए । उपाधिका लागि साइमनसँगै काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराईले प्रतिस्पर्धा गरेका थिए ।
यस्तै दोस्रो भएका जेनिस क्षेत्रीले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्न पाउने निर्देशक खड्काले बताए । तेस्रो भएका बाबु बिलिभरले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
नेबिको नेपाली मन नेपाली पनको उपाधिसँगै शशी मण्डलले १ लाख रुपैयाँ जित्दा जोसिलो पफर्मर अफ द सिजन भाइबर साइमन र चिल पफर्मर अफ द सिजन रेक्स भएका छन् । शो को निर्णायक गिरिज खतिवडा, मानस घले र बालेन शाह हुन् । तर बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएपछि बालेन शो मा देखिएका छैनन् । यद्यपि फाइनलमा भने उनी उपस्थित भए ।
८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौंमा भएको थियो ।
भौतिक अडिसनबाट निर्णायकले उत्कृष्ट १७ छानेर त्यसलाई पनि उत्कृष्ट १२ मा झारेका थिए । त्यसपछि भने भने हप्तामा १–१ जना गर्दै शो बाट प्रतिस्पर्धीहरू बाहिरिएका थिए ।

प्रतिक्रिया