महावीर पुनको अविष्कार केन्द्रलाई एक करोडको पुरस्कार
काठमाडौं१३, चैत
गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा एक करोडको पुरस्कार महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिने घोषणा गरिएको छ।
नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरूप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्त रूपमा एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो।
बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्।
‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई-दुई वर्षमा प्रदान गरिने छ। धन भएर मात्र हुँदैन त्यसभित्र ठूलो मन पनि हुनुपर्छ भन्दै एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको उदघाटन अवसरमा मुलुकको सेवामा समर्पीत व्यक्तित्वलाई सहयोग गर्नु सबै नेपालीको कर्तव्यसमेत भएको बताए। केही समयदेखि ओशोको भक्तिभावमा फरक शैलीमा देखिएका भवनको आध्यात्मिक नाम स्वामी आनन्ददेव पनि हो।
गैरअवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बिबी फाउण्डेसनले नेपाल तथा नेपालीका लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली व्यक्ति वा संस्थालाई गैरआवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बिबी फाउण्डेसनले जनाएको छ।