पल शाहविरुद्धको मुद्दामा अबको प्रक्रिया के हुन्छ ?
काठमाडौं ८, चैत
काठमाडौं । नाबालिग किशोरी बलात्कारको आरोप लागेका नायक पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो ।
जिल्ला अदातल तनहुँका सूचना अधिकारी शिवराज अधिकारीले मुद्दा दायर भएलगत्तै बयान लिने काम सुरु भएको जानकारी दिए । ‘‘बयान लिने काम भइरहेको छ । बयान सकिएपछि थुनछेकको लागि बहस हुन्छ । त्यसपछि जिल्ला जिल्ला न्यायाधिवक्ताले आफ्नो राय सुझाव राख्नेछन् । त्यसपछि दुवै पक्षले आफ्नो बहस पेस गर्नुपर्नेछ,” उनले भने ।
थुनछेक बहसपछि अदालतले शाहलाई थुनामा पठाउने वा धरौटी छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये कुनै एक आदेश गर्ने छ ।
शाहविरुद्ध फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११९ बमोजिम प्रक्रिया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको माग गरेको छ । साथै पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई समेत आधा सजायको माग गरिएको छ ।
प्रहरीले शाहमाथि २१ दिने अनुसन्धान सकाएर मंगलबार सरकारी वकिलको कार्यलयमा प्रतिवेदन बुझाएको थियो ।
नाबालिग किशोरीको उजुरीका आधारमा नवलपुर अदालतमा मुद्दा दायर भएको छ ।