संसद् कुण्ठा र आक्रोश व्यक्त गर्ने थलो होइन : पूर्वसभामुख घर्ती
काठमाडौं ।
पूर्वसभामुख ओनसरी घर्तीले संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफललाई विषयान्तर गरिएको भन्दै आपत्ति जनाएकी छन् ।
संसद आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भए पनि त्यसलाई कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने माध्यम बनाइएको टिप्पणी गरिन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा ओलीले बिहीबार सत्ता गठबन्धनविरुद्ध तीन घण्टा लामो राजनीतिक मन्तव्य दिएका थिए । त्यसप्रति संकेत गर्दै घर्तीले भनिन्, ‘संसद भनेको आम जनताको भावना अभिव्यक्त गर्ने थलो हो ।
जनताको सार्वभौम सत्ताको उच्चतम प्रयोग आफ्ना प्रतिनिधिमार्फत अभिव्यक्त हुने गर्दछ, तर केही दिनयता संसदमा भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलको रुझान हेर्दा एकातिर कुण्ठा र आक्रोश अभिव्यक्त भइरहेको छ भने, अर्कातिर मूल विषयबाट विषयान्तर हुने प्रवृति देखिएको छ ।’
नीति तथा कार्यक्रमले आधारभूत रुपमा सही विषय समेटेको भन्दै उनले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान, शोधानान्तर घाटालाई न्यूनीकरण, मूल्य वृद्धि नियन्त्रण तथा कृषि, उद्योग र ऊर्जा क्षेत्रमा उत्पादन वृद्धि एवं पर्यटन प्रवद्र्धनको नीति सही रहेको उल्लेख गरिन् ।