उपाधि जितेपछि कप्तान सन्दीपको प्रतिक्रिया : टी-२० सिरिजका हजारौं सकारात्मक पक्ष छन्
काठमाडौं २१, चैत
हामीले सोचेजस्तो खेलेका छौं। भविष्यमा हाम्रो लागि उपलब्धि हासिल हुन सक्ने यो सुरुवात हो। सिरिजमा सबै जनाको समान योगदान छ।
सिरिजमा पहिलो खेलदेखि अन्तिम खेलसम्म चार-पाँच फरक फरक खेलाडीले राम्रो प्रदर्शन गर्नु भएको छ। सबै जना राम्रो ‘सेप’ मा हुँदा खुसी लागेको छ।
कप्तानभन्दा पहिला देशको खेलाडी हुँ। खेलाडीको रूपमा धेरै खुसी लागेको छ। कप्तानको रूपमा सुरुमै धेरै कुरा मिलाउन गाह्रो हुन्छ। नतिजामा खुसी छु। मभन्दा पनि सबै खेलाडीलाई जितको श्रेय जान्छ। उहाँहरूले योजनालाई मैदानमा उतार्नु भएको छ।
आजको विकेट अलि ‘ड्राइ’ थियो। बल रोकिएर आइरहेको थियो। जसले गर्दा रन खासै बन्दैन।
हामीले १५०-१६० रन जति बनाउने सोचेका थियौं। भाग्यवस हामीले १६८ रन बनाउन सफल भयौं। लक्ष्य डिफेन्ड गर्न सक्छौं भन्ने आत्मविश्वास थियो। बीचमा एकै ओभरमा ३ विकेट जादा लय अर्कोतिर गएको पनि थियो। तर करण केसी दाइ हुनुहुन्थ्यो, सोम र म पनि थिए। हामीले लास्टको दुई तीन ओभरमा रन हान्ने सोच राखेका थियौं। करणले राम्रो खेल्नु भयो। दीपेन्द्र फेरि नटआउट रहे। ब्याटिङमा दुवै जनालाई श्रेय जान्छ।
बलिङमा सुरूको ओभरदेखि नै डट बल राखेर विपक्षीलाई लयमा खेल्न दिएनौं। लगातार विकेट आउनु र त्यसपछि दीपेन्द्रले अलराउन्ड प्रदर्शन गर्नु, म अनि करण केसीसहितका बलरले राम्रो बलिङ गर्नुभयो।
हामीले विहान आएर पिच हेरेपछि बल रोकिनेवाला छ भन्ने थाहा भइसकेको थियो। धेरै खेल पनि भइसकेको र विकेट पनि ड्राइ भएकाले ब्याटिङ पायौं भने हामीले १६० रन बनाउन सक्छौं भन्ने आत्मविश्वास थियो। जुन डिफेन्ड गर्न सक्छौं भन्ने पनि आत्मविश्वास थियो।
टिम ‘सेप’मा आएको छ। सबै जनाले उति नै योगदान गर्नुभएको छ। सबैले राम्रो गरिरहनु भएको छ। हामी अहिले सिकाइको चरणमा छौं। राम्रो नतिजा आउनका लागि समय पनि लाग्न सक्छ। सबैसँग थोरै थोरै अनुभव भए पनि नतिजा आउछ, सबैजना आत्तिनु भएन। ठूलो क्षणका लागि सुरूवात भइसकेको छ।
यो सिरिजको सकारात्मक पक्ष भनेको हाम्रो ब्याटिङ सुध्रिएको छ। बलिङ पनि योजनाअनुसार भइरहेको छ। विकेटले ब्याटरको लागि साथ दिँदा पनि बलरले राम्रो खेले। यस्तो विकेटमा खेल्दा हामीले विदेशमा गएर पनि खेल्न सजिलो हुन्छ। हामीले पाँच खेलमा पाँचै जित पार्यौं। यो प्रतियोगिताका हजारौं सकारात्मक पक्ष छन्।
जब तपाइँ जित्नु हुन्छ त्यति धेरै कमजोरी देखिदैन। अझै पनि हाम्रो टप अडरको विकेट हरेक खेलको पावरप्लेमा दिएका छौं। सायद यो कुरा हटाउनु पर्छ।
खेलमा दबाब नहुने भन्ने होइन। हरेक पटक दबाब हुन्छ। आफूले प्रदर्शन गर्नु पर्ने कुराले पनि दबाब हुन्छ।
कप्तानको रूपमा मलाई सबैले सहयोग गर्नु भएको छ। तपाइँले नतिजामै देख्न सक्नुहुन्छ। सबै खेलाडीले मलाई आफ्नो कुरा सेयर गरिरहनु भएको छ।