व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुस् : उपसभापति खड्का
चितवन ।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् । काँग्रेस चितवनले शुक्रबार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उनले जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताए ।
उनले भने, “२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो स्वार्थमा लागेर सेवा सुविधातर्फ मात्रै केन्द्रित भएको गुनासो छ । यस्ता गुनासा नआउने गरी काम गर्नुस् ।” स्थानीय जनप्रतिनिधका आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उनले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले काँग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताए ।