सत्ता गठबन्धन अपराधी भएको ओलीको टिप्पणी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई ‘अपराधी गठबन्धन’ को संज्ञा दिनुभएको छ ।

आज (आइतबार) नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले गठबन्धनले देश बर्बाद बनाउँदै लगेको आरोप लगाउनुभयो । देशमा चरम भ्रष्टता हुँदा पनि सरकारमा बस्नेले नबुझेको भन्दै उहाँले गठबन्धनकारीले देश त बर्बाद बनाउने बताउनुभयो ।

देश श्रीलंका जस्तो हुन थालेको भन्दै अध्यक्ष ओलीले कर्मचारीले तलत्र र जेष्ठ नागरिकले भत्ता नपाए पनि अनौठो मान्नु नपर्ने बेला आएको जिकीर गर्नुभयो । अहिले देशको पैसा बाहिर बाहिरै कारोबार भइरहेको भन्दै देशभित्र पैसा नआउने गरेको उहाँकाे तर्क छ ।

देशको अवस्था यस्तो हुँदापनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उहाँको आरोप छ । एमालेले चुनावको वसन्तको याम पर्खिरहेको भन्दै चुनावपछि एमाले ढुंगाको काप फोरेर उम्रिने उहाँले बताउनुभयो।

फरक प्रसंगमा अध्यक्ष ओलीले नेपाली भूमिमा ज्ञान, विज्ञान र चेतनाको इतिहास लामो भएको बताउनुभएको छ । सिङ्गो विश्व अन्धकारमा रहेका बेला यो नेपालमा ज्ञान, विज्ञान र शास्त्र तथा दर्शनको सुरुवात भइसकेको उहाँको भनाइ छ ।

नेपाली भूभागको इतिहास धेरै लामो भएको बताउँदै अध्यक्ष ओलीले विश्व शक्ति राष्ट्र अमेरिकाको इतिहास नै यस भूभागभन्दा नयाँ रहेको बताउनुभयो ।

प्रतिक्रिया