कास्की जिल्ला अदालतमा तोडफोड, मिसिल प्रमाण चोरीको आशंका


पोखरा ९,चैत।

कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । गएराति अदालतको ६ नम्बर इजलासमा तोडफोड भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी निलप्रसाद पनेरूले जानकारी दिए ।

२४ घण्टा प्रहरी सुरक्षा र अदालत अगाडि डीएसपीको कमान्डमा वडा प्रहरी कार्यालय बैदाम रहे पनि तोडफोड गर्ने व्यक्ति कसरी प्रवेश गरे भन्ने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।

 

६ नम्बर इजलास अदालत परिसरभित्र छ भने उक्त भवनमा सीसीटीभी क्यामेरा छैन । इजलासमा ढोका तोड्न, दराज तोडिएको पाइएको छ भने एउटा रड पनि बरामद भएको छ ।

उक्त फाँटमा ३५३ मुद्दाहरू थिए । थप प्रमाण मिसिलसहित उक्त फाँटमा ५०० जति मुद्दाहरू छन् ।

मुद्दा हराएको आशंकामा अदालतका कर्मचारीले छानबिन गर्दा ३५३ नै मिसिल भेटिए पनि थप प्रमाणबारे छानबिन गर्न बाँकी रहेको पनेरुले बताए ।

उक्त इजलास मंगलबार न्यायाधीश देवप्रसाद योगीले हेरेका थिए । बुधबार बिहान मात्रै कार्यालय सफा गर्ने क्रममा तोडफोड भएको खुलेको हो ।

प्रतिक्रिया