सङ्क्रमण दर अहिलेसम्मकै उच्च, सबैभन्दा बढी सङ्क्रमित २१ देखि ३० वर्ष उमेर समूहका


शनिबार ८ माघ

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा पीसीआर विधिबाट गरिने परीक्षणमा सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कोरोनाको तेस्रो लहर सुरु भए यताकै यो सबैभन्दा उच्च सङ्क्रमण दर हो । शुक्रबार पीसीआर विधिबाट सङ्क्रमण दर ४६.३ प्रतिशत थियो ।

देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट भने सङ्क्रमण दर ४२.२ प्रतिशतबाट घटेर ३५.७ प्रतिशत पुगेको छ । समग्रमा सङ्क्रमण दर ४६.३ प्रतिशत छ ।

नयाँ सङ्क्रमितहरू मध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूहबाट २ हजार ८७० जना सङ्क्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० उमेर समूहबाट २ हजार २४४ जना सङ्क्रमित छन् । १० वर्षभन्दा कमका १ सय ४६ जना सङ्क्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा काठमाडौँमा सबैभन्दा बढी ३ हजार ७६३ जना सङ्क्रमित थपिएका छन् । त्यसपछि ललितपुरमा १ हजार ११० तथा भक्तपुरमा ४३४ जना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा मोरङमा २७३, मधेस प्रदेशमा सप्तरीमा ५५ जना र गण्डकीमा कास्कीमा ४ सयजना सङ्क्रमित थपिएका छन् ।

५ सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

प्रतिक्रिया