नेपाली दलहरूमा राजनीतिक संस्कार छ : प्रचण्ड


 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली दलहरूमा राजनीतिक संस्कार रहेको बताउनुभएको छ ।

काठमाडौँ, २४ मङ्सिर 

कांग्रेसको १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रचण्डले एक–अर्कामा हातेमालो गर्दै अगाडि बढेको र यो संस्कार आवश्यक रहेको पनि बताउनुभयो । अध्यक्ष प्रचण्डले एक्लै हिँड्ने अहङ्कार नगर्न पनि शीर्ष दलका नेताहरूलाई आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘यो परिवर्तनलाई संस्थागत गर्ने र देशलाई अग्रगति दिने सन्दर्भमा पनि हाम्रो बीचमा गहिरो एकता हुन जरुरी छ । कहिलेकाहीँ म सुन्छु पार्टी र साथीहरू एक्लै हिँड्ने कुरा गर्नुहुन्छ । एक्लै हिँड्नुपर्छ हामीहरू भन्नुहुन्छ । होइन, हामी एक्लै हिँड्ने कुरा अहङ्कार कसैले पनि नगरौँ । हामी मिलेरै हिँड्ने हो । हामीले राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र पनि हामीले एकता खोजी राख्नैपर्ने हुन्छ । र अहिले हामी जे सफलता भनेका छौँ, एकताबाट, गठबन्धनबाट प्राप्त भएको सफलता हो । २०४६ सालको आन्दोलनको सफलता, शान्ति सम्झौताको सफलता, या २०६२/०६३ को सफलता सबै लोकतान्त्रिक राजनीतिक दलहरूको बीचमा भएको एकताको परिणाम हो । त्यस कारण एक्लै हिँड्ने अहङ्कार गर्न खोज्दा ओरालो यात्रा सुरु भयो भन्ने कुरा नेपालको इतिहासले देखाएको छ ।’

देशमा राजनीतिक परिर्वतन निरन्तर हुँदै आएको र यो परिवर्तनलाई संस्थागत गर्न पनि कांग्रेस, माओवादीलगायतका दलबीच एकता आवश्यक रहेकाे उहाँले बताउनुभयो ।

 

 

प्रतिक्रिया