रवीन्द्र मिश्रको उद्घोष : छिट्टै हाम्रो पार्टीको राष्ट्रप्रमुखले भोटो देखाउनुहुन्छ
काठमाडौँ,
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चाँडै नै आफ्नो पार्टी सत्तामा पुग्ने दाबी गरेका छन् । ललितपुरको जावलाखेलमा पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले भने, ‘यहीँ उभिएर राष्ट्रप्रमुखहरूले भोटो देखाउने गरेका छन् । तपाईंहरुको साथ र सहयोग रह्यो भने, देशका जनताको साथ र सहयोग रह्यो भने निकट भविष्यमा विवेकशील साझाका राष्ट्रप्रमुखले भोटो देखाउनुहुनेछ ।’
उनले यो कुरा अहिले गर्दा धेरैलाई अतिशयोक्तिपूर्ण लागे पनि जनताको मनोविज्ञान परिवर्तन हुँदै जाँदा यो सम्भव हुने जिकिर गरे । ‘पञ्चायत ढल्ला, राजतन्त्र ढल्ला, माओवादी सत्तामा आउँला भनेर कसैले सोचेकै थिएन । कसैले मञ्चमा उभिएर भाषण गर्दा मान्छे हाँस्थेँ,’ उनले भने, ‘अहिले हामीले हाम्रो विचार अघि सार्दा राजनीतिज्ञ र बुद्धिजीवीहरू त्यसलाई अवमूल्यन गर्छन् । तर लेखेर राख्नुहोस्, देश रूपान्तरण गर्ने भनेको विवेकशील साझा पार्टीले नै हो । हाम्रो पार्टीले देशको नेतृत्व गर्छ–गर्छ ।’