काठमाडौको जग्गा कित्ताकाटमा नयाँ नियम
काठमाडौंमा घर बनाउने प्रयोजन (आवास) को लागि एक सय ३० वर्गमिटर (४ आना) भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको हो।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नियमावली २०७९ मा यस्तो व्यवस्था गरिएको हो। २३ जेठमा राजपत्रमा प्रकाशित गरेर यस्तो नियमावली सार्वजनिक गरिएको छ।
काठमाडौं उपत्यकामा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा पनि १५.७६ आना (५ सय वर्गमिटर) भन्दा कम हुने गरी कित्ताकाट गर्न बन्देज लगाइएको छ। त्यस्तै, तराई र भित्री मधेशमा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा २१.२२ आना वा ३९.८६ धुर (६७५ वर्गमिटर) र बाँकी अन्य स्थानमा ३१.४५ आना वा ५९ धुर (एक हजार वर्गमिटर) भन्दा कममा कित्ताकाट गर्न नपाइने वयवस्था गरिएको छ।
कित्ताको आकार वा क्षेत्रफल नमिलेर सीमानाकै अर्को कित्ताबाट केही निश्चत क्षेत्रफल ल्याएर जग्गा मिलान गर्न भने सकिने व्यवस्था यो नियमावलीमा गरिएको छ।