विप्लव नेकपाको कार्यनीति : एमसीसी विरोधी उम्मेदवारलाई भोट दिने
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा एमसीसी विरोधी, राष्ट्रघात विरोधी वामपन्थी दलका उम्मेदवारलाई सघाउने नीति पारित गरेको छ । कपिलबस्तुको शिवनगरमा गत चैत ४ गतेदेखि बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले पार्टीका महासचिव विप्लवले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै विगत ५ बर्षको अवधीमा संसदीय व्यवस्थाले देश र जनताका पक्षमा काम नगरेको र यो व्यवस्था पूर्ण रुपले असफल भएको निष्कर्ष निकालेको छ । संसदीय व्यवस्थाको विरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रह गर्ने पार्टीको मूल मान्यतालाई कायम गर्दै अघि बढ्ने बारेमा छलफल भएको छ । साथै असफल भएको संसदीय व्यवस्थाका विरुद्ध प्रचारका कार्यक्रम गर्ने पनि सो दलले निर्णय गरेको छ ।
आगामी स्थानीय तह निर्वाचनबारे बैठकमा छलफल भएपनि चुनावमा सहभागी हुने वा त्यसलाई उपयोग गरेर जाने भन्ने जस्ता कुराहरु पार्टीले खारेज गरेको केन्द्रीय सदस्य गुणराज लोहनीले रातोपाटीलाई जानकारी दिए ।
निर्वाचन आयोगमा पार्टी दर्ता नै नभएको अवस्थामा चुनावमा जाने कुरा नै सान्दर्भिक नहुने उनको भनाइ छ । रातोपाटीसँगको कुराकानीमा उनले भने–‘आगामी चुनावमा वामपन्थी, एमसीसी विरोधी, राष्ट्रघात विरोधी उमेदवार उठेको छ भने उसलाई सहयोग गर्ने कुरा भएको छ । अघिल्लो चुनावमा जस्तो कडा खालको बहिष्कार त हुँदैन तर भोट नहाल्ने भनेपछि बहिष्कार जस्तोपनि भयो । पार्टी चुनावमा जाने त कुरै हुँदैन् ।’
पार्टीको केन्द्रीय समितिले गरेका निर्णयहरु पार्टीको महासचिव वा प्रवक्ता मार्फत विज्ञप्ति वा पत्रकार सम्मेलनमार्फत छिट्टै सार्वजनिक गरिने उनले बताए । पार्टीले संसदीय व्यवस्थालाई नै अस्वीकार गरेको हुँदा चुनावमा सहभागी बारे बैठकमा कोही पक्ष वा विपक्षमा नरहेको दावी गरे । उनले भने–‘आयोगमा पार्टी दर्ता नगर्नु, कुनै मोर्चा दर्ता नगर्नुको अर्थ के हुन्छ ? हामी चुनावमा सहभागी हुने कुरै हुँदैन् । यो भनेको नीतिगत रुपमा हामीले संसदीय व्यवस्थालाई अस्वीकार गरेको नै भयो । चुनावमा गयो भने त हामीले संसदीय व्यवस्थालाई स्वीकार गरेको हुन्छ । हामीले चुनावलाई उपयोग वा प्रयोग जाने भन्ने कुरालाई नै खारेज गरेका छौँ । देशभक्त गणतान्त्रिक मोर्चा भनेर पनि बनाइएको छ । अहिले हाम्रो पार्टी त्यस्तो मोर्चामा पनि छैन् । अहिलेको चुनावमा हाम्रो पार्टीको सहयोग पाउन पहिलो सर्त एमसीसी बिरोधी हुनुप¥यो, वामपन्थी, देशभक्त हुनुप¥यो ।’