राप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने
काठमाडौं,७ चैत्र
राप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ ।
पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्ष सहसंयोजक रहेको समितिमा केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव छन् ।
समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्ष, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्ष पनि छन् । आमसभालाई प्रभावकारी बनाउन उपसमिति पनि गठन गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।
राजनीतिक दल स्थानीय तहको चुनावमा केन्द्रित छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि शीर्ष नेताहरु देश दौडाहामा छन् ।
निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि चुनावी दौडमा छ । राप्रपाले गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेको थियो ।