प्रकाशमानको छोरा पनि कांग्रेस राजनीतिमा, भए महाधिवेशन प्रतिनिधि
काठमाडौं,६ मंसिर
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको छोरा प्रभाशमान सिंह पनि पार्टी राजनीतिमा सक्रिय भएका छन्।
आज भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट प्रभाशमान कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका छन्।
सिंह काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रभाशमान महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएका हुन्।
३२ वर्षका प्रभाशमान सिंह यसअघि कांग्रेसको भातृ संस्था नेपाल तरूण दलमा सक्रिय थिए। उनी तरूण दलको केन्द्रीय पार्षद थिए।
प्रकाशमानका दुई छोरामध्ये कान्छो भाष्करमान भने राजनीतिमा सक्रिय छैनन्।
छोरा र श्रीमती सिर्जना महाधिवेशन प्रतिनिधि बनेसँगै प्रकाशमानकै घरमा ३ जना महाधिवेशन प्रतिनिधि हुने भएका छन्।
पूर्वमहामन्त्रीसमेत रहेका सिंह केन्द्रीय सदस्य पनि हुन्। केन्द्रीय सदस्य स्वत: कांग्रेस महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। सिंह १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारीमा छन्।
कांग्रेसले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ। आज १४८ प्रतिनिधि सभा क्षेत्रमा कांग्रेसले क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि छान्न चुनाव गरिरहेको छ। आज कांग्रेसले करिब तीन हजार महाधिवेशन प्रतिनिधि चयन गर्नेछ।